भिम रावल कि बिष्णु पौडेल? विभागीय मन्त्रीभन्दा शक्तिशाली ‘बिशेष मन्त्री’ राख्दै प्रधानमन्त्री ओली!

प्रधानमन्त्री केपी शर्मा ओलीले एक विशिष्ट मन्त्री बनाउने तयारी गरिरहेको खुलेको छ ।

कतिपय देशहरूमा सरकारको काम कार्वाहीमा विशेष भूमिका खेल्ने ‘विशेष मन्त्री’ राख्ने विदेशी प्रचलन नेपालमा पनिअनुसरण गर्न लागेको बताइएको छ ।

मन्त्रालयविहीन ती मन्त्री प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहने जनाइएको छ । तर, विभागीय मन्त्रीभन्दा शक्तिशाली हुनेछन् ।

प्रधानमन्त्रीलाई सघाउने गरी छुट्टै मन्त्री राख्न थालिएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । संघीय शासनमा सफलता हासिल गरेका मलेसिया, अस्ट्रेलिया र क्यानडामा पनि प्रधानमन्त्रीलाई सहयोग गर्न छुट्टै मन्त्रीको व्यवस्था गर्ने गरिएको छ ।

मलेसियाको विकासमा त्यसले ठूलो सहयोग गरेको दावी गरिन्छ । मलेसियाका तत्कालीन प्रधानमन्त्री डा. महाथिर मोहम्मदले प्रधानमन्त्री कार्यालयलाई चलायमान बनाउन आफ्नो कार्यालयमा मन्त्री-उपमन्त्रीसहित १० जनासम्म राखेका थिए ।

प्रधानमन्त्री कार्यालयको नयाँ सांगठनिक संरचना बनाउँदा पनि मन्त्रिपरिषद् कार्यालय हेर्ने एउटा मन्त्री राख्ने गरी नयाँ संगठन संरचना बनाउन गृहकार्य अन्तिम चरणमा पुर्‍याएको छ । अहिले विभिन्न मन्त्रालयबाट आउने प्रस्ताव मुख्य सचिवमार्फत सिधै प्रधानमन्त्री कहाँ पुग्ने गरेको छ । क्याबिनेट मन्त्री आएपछि उनीमार्फत नै प्रस्तावहरू प्रधानमन्त्री समक्ष पुग्नेछ । प्रधानमन्त्री कार्यालयको मन्त्रीको रूपमा रहेर जिम्मेवारी बहन गर्ने ती मन्त्रीले क्याबिनेट मन्त्रीको रूपमा समेत काम गर्नेछन् ।

विभाग नभए पनि महत्वपूर्ण जिम्मेवारी हुने भएकाले त्यसको जिम्मेवारी पार्टीभित्र उच्च तहका नेतालाई दिन लागेको ओली निकटका एक नेताले जानकारी दिएका छन् । राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण, जस्ता अनुसन्धानमूलक निकाय तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको मापदण्ड तथा अनुगमन कार्यको जिम्मेवारी समेत प्रधानमन्त्री मातहतमा आएकाले त्यसको रेखदेख पनि ती मन्त्रीले गर्नेछन् ।

कसले पाउलान जिम्मेवारी ?
आफ्नो चाहना ती मन्त्री बुझेर कार्यान्वयनमा लैजानु पर्ने भएकाले जिम्मेवारीका विषयमा मसिनो गरी प्रधानमन्त्री ओलीले छलफल गरिरहेका छन् ।

मर्यादा क्रममा पनि उच्च रहनेगरी सबै मन्त्रीलाई पनि समन्वय गर्न सक्ने हैसियत राख्ने व्यक्तिलाई मन्त्री बनाउन खोजिएको छ ।

Published On: March 19, 2018

Comments

Loading...

Related Posts